काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद टुंगो लगाउन सहमतिको खाका तयार गरिएको छ । यसबारे अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको राजीनामा मागिरहेका अर्को पक्षका नेताहरु बसेर सहमति निकाल्ने प्रयास गर्दैछन् ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने तर पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिएर मिलाउने खाका बनाइएको छ । प्रचण्डनिकट स्थायी कमिटी सदस्य चक्रपाणी खनालले एक व्यक्ति एक पदको जिम्मेवारी लिने गरी सहमति निकाल्ने प्रयास भइरहेको बताए । उनले ऋषि धमलासँग कुरा गर्दै सरकार र पार्टीको जिम्मेवारी फरक व्यक्तिले गर्ने गरी सहमतिको प्रयास हुँदै आएको छ ।
खनालका अनुसार मंसिरभित्र एकताको महाधिवेशन टुंग्याउने गरी अगाडि बढ्न ओली पक्षबाट प्रस्ताव आएको छ । तर, त्यसअघि ओली अध्यक्ष पद छाड्न तयार देखिएका छैनन् । उनले महाधिवेशन छिट्टै गरेर अध्यक्ष छाड्ने प्रस्ताव गरेका छन् ।
पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्ने, अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिने, वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकार सञ्चालन निर्देशक बनाउने, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लाने, मन्त्रिमण्डल पुर्नगठन गर्ने, मुख्यमन्त्रीहरु हेरफेर गर्ने, सचिवालय र स्थायी कमिटी हेरफेर र थपघट गर्ने गरी खाका तयार गरिएको छ । यसै खाकामा केन्द्रित रहेर सहमति निकाल्ने प्रयास हुने बुझिएको छ ।
ओलीइतरका नेताहरु उल्लेखित विषयमा ओली सहमत भए राजीनामाको विषय फिर्ता लिन तयार भएको विश्वस्त स्रोतले बताएको छ । यही विषयका साथ अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम ओलीसँग छलफलका लागि तयार भएका छन् । उनीहरुबीच आजै गम्भीर छलफल हुँदैछ ।
आ-आफ्नो तर्फबाट सहमतिको बटमलाइन लिएर नेताहरु प्रस्तुत हुँदैछन् । यसले नेकपा विवादलाई टुंगोमा पुर्याउन अपेक्षा गरिएको छ ।