Logo

मौद्रिक नीति विगतभन्दा राम्रो छ, हामी सकारात्मक छौं : मल्ल



काठमाडौं, २ साउन । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिप्रति आफूहरु सकारात्मक नै रहेको बताएका छन् । मौद्रिक नीतिबारे रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै मल्लले भने,‘मौद्रिक नीतिले कोरोनाले पारेको असरबारे सम्बोधन गर्न खोजेको छ। तर, जुन किसिमको रिफाईनान्सको कुरा एड्रेस गरिराखेको छ। कतिपय कुरा अलिक भिन्न किसिमको आउनुपर्छ । कृषि क्षेत्रलाई सफ्ट लोन दिने कुरा सकारात्मक छ । व्याजदरको हकमा नियन्त्रण गर्न खोजेको छ । यो पनि सकारात्मक कुरा हो ।’

उनले रिफाईनान्सको फण्डले नपुग्नपनि सक्ने देखिएको तर त्यसबारेमा नीतिमा ठोस कुरा उल्लेख नगरिएको बताए । उनले भने,‘हाम्रो घाउ त ठूलो छ । त्यो अनुसारको मल्हम चाहियो । प्रायः हाम्रा माग र सुझावहरु सम्बोधन भएका छन् । कृषिमा दशदेखि पन्ध्र होईन्, २० प्रतिशत लोन प्रवाहित गर्नुपर्छ ।’

उनले उत्पादनशील क्षेत्रमा लोन प्रवाह गर्न सकिए कोरोनाको कहरमा पनि सर्भाईभलमा जान सकिने धारणा राखे । उनले भने,‘हामीले कृषि क्षेत्रलाई हाईलाईट गर्नुपर्छ । सहकारीको सम्बन्धमा पनि राम्रो नीति आउनुपर्छ । देशभरि साँढे ३४ हजारको हाराहारीमा सहकारी छन् । यसलाई पनि व्यवस्थित् रुपमा आन्तरिक मन्त्रालयमा समन्वय गरेर अनुशासित दायरामा ल्याउनुपर्छ । तल्लो तहका साना तथा मझौला उद्यमी, कृषक र महिला उद्यमी सहकारीमा निर्भर छन् । त्यसैले यसलाई व्यवस्थित् गर्नुपर्छ ।’ मल्लले मौद्रिक नीति समग्रमा सकारात्मक र विगतभन्दा राम्रो रहेको टिप्पणी गरे । यद्धपी उनले अझै राम्रो नीति पनि ल्याउन सकिने धारणा राखे । file photo/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्