Logo

प्रधानमन्त्री र शिक्षामन्त्रीको मुख ताकेर नबस्न निजी विद्यालय सञ्चालकहरुलाई कोइरालाको सुझाव



काठमाडौं, २ साउन । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रको समस्या समाधानको लागि राज्य बढि जिम्मेवार हुनुपर्नेमा अहिले त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘अनलाईन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ । प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दापनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेतर्फ सबैले सोच्नुपर्छ ।’–कोइरालाले भने । निजी विद्यालयहरुलाई संविधानले र शिक्षा नीतिले चिनेकोले यसलाई कसरी व्यवस्थापन गर्ने हो ? यसबारेमा राज्यले सोच्नुपर्ने उनको तर्क छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निजी विद्यालयहरुले अनलाईन कक्षा बन्द गर्नु बेईमानी भएको टिप्पणी गरे । विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता गर्नुभन्दापनि अभिभावकहरुसँग समाधानको लागि गम्भिर छलफल गर्नुपर्ने उनले सुझाव दिए । उनले भने,‘तिर्न सक्ने, अलिकति तिर्न सक्ने र नसक्नेहरुको वर्गीकरण गर्नुपर्छ । हामी अभिभावकसँग विद्यालय सञ्चालक साथीहरुले छलफल बढि गर्नुपर्छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको मुख ताकेर बस्नुहुँदैन् ।’

कोइरालाले अहिले निजी विद्यालयहरुको समस्या समाधान गर्ने उपयुक्त बेला भएको पनि तर्क गरे । उनले भने,‘घर भाडा तिर्न नसक्ने विद्यालयहरु मर्ज गरौं । यो राम्रो अवसरपनि हो । बैंकको ऋणको व्याज तिर्ने समस्या छ, विद्यालय सञ्चालकहरु शिक्षा मन्त्रालय धाउन छोडौं ।’

उनले कतिपय विद्यालय सञ्चालकहरु नै सांसद हुनु र विद्यार्थी संगठनका नेताहरुले विद्यालय सञ्चालकसँग पैसा लिँदा शिक्षा क्षेत्र झनै समस्यामा परेको बताए । उनले भने,‘यो सबै कन्फ्लििक्ट अफ ईन्ट्रेष्टको असर हो ।’

त्यस्तै, यो तीन महिनासम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरु ठूलो तनावमा रहेको स्पष्ट पारे । अहिलेसम्म १३–१४ सय युवाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको सुनाउँदै यसतर्फपनि सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्