Logo

‘रिकष्टिङ गर्नुपर्छ, हामी ट्युसन फि तिर्न तयार छौं’ : सुप्रभात भण्डारी



काठमाडौं, २ साउन । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिए । उनले निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न नाममा फि नै लिएको दाबी गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘विद्यालय सञ्चालकहरुले अभिभावको क्याटेगोरी छुट्याउनुपर्छ । अहिलेको मौका छोपेर एकमुष्ट पैसा उठाउने काम कसैले पनि नगरौं । विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकार हनन नहोस् ।’ कतिपय विद्यालयहरुले अभिभावकलाई अनावश्यक दबाब दिएको प्रमाणहरु पनि आफूहरुसँग सुरक्षित भएको बताउँदै त्यस्तो दबाब नदिन भण्डारीले चेतावनी दिए ।

उनले शुल्क नतिरेको नाममा विद्यालयहरुले एक जना विद्यार्थीपनि निकाल्न नपाउने बताए । अभिभावकहरुले चैत्रसम्मको शुल्क तिरेको तर कतिपय विद्यालयहरुले त्यो भन्दा अघिको नै तलब तथा भक्ता आफ्नो शिक्षकहरुलाई नदिएको पनि उनले सुनाए ।

उनले यस्तो विषम परिस्थितिमा शिक्षा मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उसको जिम्मेवारीवोधलाई लिएर प्रश्न गरे । उनले भने,‘हामी सबैले आफ्नो ठाउँबाट राम्रो भूमिका खेलौं । तिर्न सक्ने अभिभावकले शुल्क तिरौं । नसक्नेको हकमा विद्यालयहरुले पनि सही भूमिका खेल्नुपर्यो ।’ उनले आफूहरु (अभिभावक) विद्यालयको सञ्चालन खर्च भने तिर्न तयार रहेको सुनाए । उनले भने,‘तर, रिकष्टिङ गर्नुपर्छ । हामी फि तिर्न तयार छौं । ट्युसन फि चाहीँ हामीले तिर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्