Logo

सचिवालय बैठकमा ओलीको शक्ति परीक्षण, विरोधी गलाएर बलियो बनेकै हुन् ?



काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीको आज सचिवालय बस्दैछ । बैठकमा पार्टीभित्रको विवादमा मात्र केन्द्रित हुनेछैन । नेकपाभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको राजीनामा माग्दै आएको पुष्पकमल दाहाललगायत पक्षधरमध्ये कस्को पल्लाभारी छ भन्ने परीक्षणका रुपमा पनि लिइएको छ ।

पार्टी स्थायी कमिटी बैठक टार्दै आएका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाक्नुलाई अर्थपूर्ण मानिएको छ । उनले विरोधी समुहलाई गलाएको र थकाएको सन्देश गइरहेको छ । राजीनामा मागिरहेकाहरु अब एक महिनापछि केन्द्रीय कमिटी डाक्ने निष्कर्षमा पुगेका छन् । यसले ओलीविरोधीहरु कमजोर भएका त होइनन् भन्ने आशंका समेत उब्जिएको छ ।

पार्टी सचिवालयमा अहिले ओली अल्पमतमा छन् । उनको पक्षमा आफूसहित तीन जना छन् । विरोधी समुहमा छ जना छन् । तर, ओलीले दुई सचिवालय सदस्यलाई आफू नजिक ल्याइरहेको विषय बाहिर आइरहेको छ ।

उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल लचिलो बन्दै ओली नजिक पुगेको सन्देशहरु प्रवाह हुनथालेको छ । गौतम र थापा ओलीको राजीनामा माग्न अगाडि बढेका छैनन् । बादल मौन छन् भने गौतम ओलीप्रति अनगिन्ती असहमतिहरु भएको मात्र बताउँदै आएका छन् ।

गौतम र बादललाई नजिक ल्याएर ओलीले राजीनामाको माग कमजोर बनाउने रणनीति बनाउँदै आएका थिए । उनले विरोधीलाई कमजोर पारेर सत्ता सुरक्षित बनाएर थप कडा कदम चाल्न सक्ने आँकलन पनि गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्