काठमाडौं,साउन ४ । नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ । ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा पुगेका छन् ।
पारिवारिक सदस्यहरू नै सञ्चालक रहेको यो ग्रुपमा अन्य साझेदारले होइन आफ्नै दाजुभाइले एक–अर्कालाई ठगी गरेको, झुक्काएको, विश्वासघात गरेको भन्दै प्रहरीलाई गुहार्न पुगेका हुन् । प्राप्त जानकारीअनुसार ज्योति ग्रुपका उपाध्यक्ष डा। रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ ज्योति र सुहृद ज्योतिविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान महाशाखामा उजुरी गरेका हुन् । डा। रुप ज्योतिले भतिजहरूले छल गरी कम्पनी हत्याएको, सम्पत्ति खोसेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।
डा। रुप ज्योतिले पर्साको परवानीपुरस्थित आफ्नो नाममा रहेको पाँच बिगाह जग्गा जेठो भतिज सौरभले बिक्री गरेको र कान्छो भतिज सुहृद आप्mनो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा ‘कर्पोरेट फ्रड’ गरी करोडौं रुपियाँ डुबाएको ओराप लगाएका छन् । स्रोतका अनुसार सुहदले आफ्नो ग्रुपअन्तर्गत रहेको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीका विरुद्ध भाजुरत्न प्रालि नामक कम्पनी खोलेका छन् ।
त्यति मात्रै होइन भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीले बिक्री गर्दै आएको ट्याक्टरको डिलरसिप खोस्नुका साथै सो कम्पनीको स्वामित्वमा रहेको २० करोड रुपियाँभन्दा बढीको सामान पनि उठाएका छन् । वर्षौंदेखि भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा कार्यरत कर्मचारीलाई जबरजस्ती राजीनामा दिन लगाएर भाजुरत्न प्रालिमा नियुक्त गरेका छन् । कम्पनीको कम्प्युटर नेटवर्किङमा काकाको पहुँचबाट टाढा राखेको आरोप छ ।
‘ज्योति ग्रुपको पारिवारिक स्रोतले भन्यो–‘पर्साको परवानीपुरको जग्गा काण्डभन्दा भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीविरुद्ध अर्को कम्पनी खोलेर व्यापार खोसेकोमा रुप ज्योतिलाई भतिजहरूदेखि रिस उठेको देखिन्छ’, स्रोतले अगाडि भन्यो– ‘२० करोड रुपियाँभन्दा बढीको सामान १३ करोडमा आफैं ‘अन्डर बिलिङ’ गरी लिए पनि भतिजले हालसम्म पैसा नै नतिरेको, एक्कासि व्यापार खोसिँदा बजारमा ५० करोड रुपियाँको भन्दा बढीका सामान सप्लाई भएको अवस्थामा कर्मचारीसमेत लगिदिँदा त्यो डुब्न सक्ने खतरा रहेको भन्दै रूप ज्योतिले आफूलाई भतिजहरूले डुबाएको गुनासो गर्दै आएका छन् ।’
‘अण्डर बिलिङको विषयमा करले शतप्रतिशत जरिवाना गर्न सक्ने र दाजुभाइको लफडा भनेर कर र बैंकले नछोड्ने भएकाले रुप ज्योतिमाथि बर्सिने डन्डाबाट जोगाउन पारिवारिक सहमतिमै कानुनी उपचार खोजेको हुन सक्ने देखिएको छ । केही पुराना कुरा पनि उब्जिएका छन् । जग्गा बिक्री काण्डमा बिजेन्द्र मल्लको उजुरीमा ठगी प्रकारणमा रुप ज्योति र उनकी छोरी सुरुची पक्राउ परेपछि दाजुको परिवारले आफ्नो ‘इन्स्ल्ट फिल’ गर्दा किचलो बढेकाले रुप ज्योतिले मौकामा बदला लिन प्रहरीका उजुरी गरेको हुन सक्छ । उक्त जग्गा ल्यान्डमार्क प्रालिले बिक्री गरेको थियो । त्यसमा दाजुका परिवारका सदस्य पनि झण्डै जेल गएका थिएनन्’ –पारिवारिक स्रोतको भनाई रहेको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।