Logo

सीमामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप २ घाइते



इनरुवा, ४ साउन । सुनसरीको सीमावर्ती गाउपालिका हरिनगर ७, घुस्कीमा सशस्त्र प्रहरीको गोली लागेर गएराति स्थानीय एक जना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा समान ल्याउने विषयमा विवाद हुँदा गोली चलेको हो ।

गोली लागेर हरिनगर गाउँपालिका वार्ड नम्बर ७, घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते हुनुभएको छ भने युवाहरूले कुटपिटबाट गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिशुङ्खेसमेत घाइते हुनुभएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएको सशस्त्र प्रहरीको भनाइ छ । स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा स्थानीय ६ ,७ जना युवाको समूहले हतियार खोस्न खोजेपछि सोही क्रममा गोली चलेको सीमा सुरक्षा बल सुनसरीका सशस्त्र प्रहरी नायब उपरीक्षक मित्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।

‘अवैध सामान ल्याउनेहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरे । हतियार बचाउन प्रहरी प्रतिकारमा उत्रिएका हुन ।’ श्रेष्ठले भन्नुभयो । घाइते विशुङ्खेको सशस्त्र प्रहरीको पकलीस्थित अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त रहनुभएको छ । अहिले अवस्था सामान्य रहेको छ । घटनाबारे स्थानीय र सशस्त्र प्रहरीबीच वार्ताको तयारी भइरहेको स्थानीयले जानकारी दिएको छ । अन्सारीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनापछि ठूलो भीड बढेको थियो । राति नै उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसअघि बिहीबार राती मात्रै सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जको पानी ट्याङ्कीनजिक २०७७ साउन १ गते राति प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको थियो । त्यस क्रममा चार जना घाइते भएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्