Logo

खोकनाबाट सुरक्षाकर्मी फर्के, प्रदर्शनकारीले धान रोपे



ललितपुर, ४ साउन । गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग फास्टट्र्याकको धमाधम काम भइरहेको छ । पुल, सुरुङ निर्माण गर्नुपर्ने कामबाहेक अधिकांश स्थानमा सडकको कामको प्रगति हेर्दा उत्साहजनक प्रगति नै देखिन्छ ।

लेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको सन्ताउन्नौँ वार्षिक प्रतिवेदनले पनि दु्रतमार्गको कामको प्रगति उत्साहित नै देखिन्छ । ‘सडकको कुल लम्बाइ ७६ दशमलव २ किलोमिटरमध्ये पुल र सुरुङको लम्बाइ घटाउँदा बाँकी रहने ५५ दशमलव ५० किमिमध्ये २५ दशमलव ४४ किमिको सबग्रेड फर्मेसन लेभलसम्मको निर्माण शतप्रतिशत, १० दशलमव ९२ किमि सडकको निर्माण ८० प्रतिशतभन्दा माथि तथा १६ दशमलव ९ किमिको सडक ५० देखि ८० प्रतिशत प्रगति भएको उल्लेख छ’ –प्रतिवेदनमा उल्लेख छ ।

तर दु्रतमार्गको जिरो किलोमिटर अर्थात् सुरुको विन्दु पार्ने ललितपुरको खोकना, बुंगमति र फर्सिडोल खण्डमा भने काम भएको देखिँदैन । स्थानीयको अवरोधकै कारण यहाँको काम अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै दु्रतमार्गको विरोधमा उत्रिएका खोकना, बुंगमतिका स्थानीयले खोकनामै बन्न लागिएका योजनाहरु स्मार्ट सिटी, रेल मार्ग, १३३ केभीको विद्युतीय प्रसारण लाइन, बागमति कोरिडोरको एक साथ विरोध गर्दै आएका छन् ।

दु्रतमार्गको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइदेखि खोकनालाई दु्रतमार्ग चाहिँदैन भन्दै आएका स्थानीयले विरोध गर्न पनि छोडेका छैनन् ।

‘सम्पदार नेवा संस्कृति मासिने गरी विस्तार हुन लागिएको फास्टट्रयाकलगायत अन्य योजना खोकनालाई स्वीकार्य छैन । हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ । राज्यले सुन्नुपर्छ’, शनिबार विरोध सभालाई सम्बोधनका क्रममा खोकना जनसरोकार समितिका संयोजक नेपाल डंगोलले बताउनुभयो ।

पछिल्ला दिनमा खोकनामा यस्तै विरोधका सभाहरु भइरहेको छ । विरोधको स्वरुप भने दु्रतमार्गको लागि अधिग्रहण गरिएका खेतहरुमा धान रोप्ने त कहिले आफ्ना मागहरु जनप्रतिनिधिले नसुनेको भन्दै तिनीहरुको पुतला दहन गर्नेदेखि मसालजुलुससम्म गरिरहेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्