काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पमल दाहालसहितको समुहले खुमलटारमा बैठक बसी पुरानै अडानमा यथावत् रहने निष्कर्ष निकालेको छ । आज बसेको बैठकले ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई नमान्ने र राजीनामा दिई मार्ग प्रशस्त गर्ने अडानमा यथावत् रहने निर्णय लिएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठनेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । उनीहरुले कुनै प्रकारको भ्रम चिरेर बढ्नेबारे समेत छलफल गरेका छन् ।
बैठकबारे जानकारी दिदै वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको बहस यथावत् रहेको बताए । उनले मंसिरमा महाधिवेशन गर्ने विषय अमान्य हुने स्पष्ट पारे । उनले भने, ‘मंसिरमा महाधिवेशन यथास्थितिमा सम्भव पनि छैन र मान्य पनि हुँदैन ।’ राजीनामाको मागबारे उनले आफूहरुको पुरानै धारणा यथावत् रहेको बताए ।
यसअघि हिजो सचिवालय बैठक पछि ओली र प्रचण्ड बसी महाधिवेशन मंसिरमा गर्ने र राजीनामाबाट पछि हट्ने सहमति बनेको चर्चा चलेको थियो । त्यसलाई प्रचण्डको सचिवालयले खण्डन गरेको थियो ।
आजको बैठकमा प्रचण्डले ओलीसँग कुनै सहमति नभएको र भ्रममा नपर्न स्पष्ट पारेको बुझिएको छ । उनले एकजुट भएर सहमतिका साथ आन्तरिक व्यवस्थापन गर्न अगाडि बढ्नेमा आफू यताउता नहुनेबारे छलफल गरेका छन् ।
वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि एकजुट भएर पार्टीलाई जोगाउन जोखिम कदम चाल्न पछि पर्न नहुने तर्क राखेको बुझिएको छ ।
बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएनन् । उनी प्रचण्ड र माधव नेपालको भुमिकाप्रति केही असन्तुष्ट भएको बुझिएको छ । ओलीको आश्वासनबाट प्रचण्ड प्रभावित भएको आशंकापछि गौतम रुष्ट भएका थिए । सचिवालय सदस्य बादल भने पर्ख र हेरको नीतिमा छन् । उनी पछिल्लो समय विकसित घटनाक्रमबारे सचेत भएका छन् ।
।-File Photo