Logo

एकैदिन मलेसियाबाट १६ शव ल्याइयो



काठमाडौँ, ५ साउन : मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो । आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो । यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।

दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ । मङ्गलबार पनि यी दुवै एयरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ ।रासस/Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्