Logo

पच्चिस मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए



काठमाडौँ, ५ साउन : कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने आज मात्रै ५५८ नेपाली घर फर्किएका छन् । यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।

उद्धार उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।रासस

 



प्रतिक्रिया दिनुहोस्