Logo

राजीव गान्धीको हत्याकी दोषी नलिनीद्वारा जेलमै आत्महत्याको प्रयास



एजेन्सी, ६ साउन । भारतका पूर्व प्रधामन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहरिएकी नलिनी श्रीहरनले जेलमै आत्महत्याको प्रयास गरेकी छिन् । उनले सोमबार आत्महत्याको प्रयास गरेकी हुन् ।

नलिनीका वकिल पी पुगालेन्थीको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले नलिनीले आत्महत्या प्रयास गरेको खबर प्रकाशमा ल्याएको छ । तर, जेल प्रशासनले उनले आत्महत्याको धम्की मात्र दिएको दाबी गरेको छ । उनको स्वास्थ्य अवस्था राम्रो रहेको भनिएको छ ।

नलिनीले जेलका अन्य कैदीबन्दीलाई आफ्नो हेल्पर जसरी व्यवहार गर्ने गरेको जेल अधिकारीको भनाई छ । उनले अन्य महिला कैदीलाई हैरान पार्ने गरेको बताएका छन् ।

२१ मे सन् १९९१ मा राजीव गान्धीको आत्मघाती बम हमलामा हत्या भएको थियो । घटनामा नलिनी दोषी ठहर भएकी थिइन् । उनलाई फाँसीको सजाय सुनाइएकोमा पछि घटाएर आजीवन कारावासको सजाय सुनाइएको थियो । नलिनी २८ वर्षयता जेलमा छिन् । उनकी एक छोरी पनि छिन् ।



प्रतिक्रिया दिनुहोस्