Logo

चिनियाँ जहाज थन्काएर युरोपेली आकाशमा उड्ने महत्वाकांक्षा



काठमाडौं, ६ साउन । नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे आएलगत्तै चिनियाँ जहाज नचलाउने कडा निर्णय आयो । १५ साउनबाट छवटा चिनियाँ जहाज चल्न छाड्नेछन् । त्यसो त केही जहाज थन्किएकै थिए । वार्षिक करोडौं घाटा खाएर विमान चलाउँदा सर्वत्र आलोचना भइरहेको थियो ।

चिनियाँ जहाजले घाटा बढाइरहेको थियो । त्यसमाथि वाइड बडीले काम नपाउँदा सेतो हात्ती सावित भइरहेको अवस्थामा निगम धराशाही बन्दै थियो । तर, निगम व्यवस्थापनले कडा निर्णय गरेर एकसाथ दुईवटा लाभ लिन खोजेको छ । चिनियाँ विमान नचलाउने निर्णय गरेर घाटा अन्त गर्ने भएको छ । अर्कोतर्फ युरोपेली आकाशमा नेपाली विमान पुग्ने वातावरण बनाउन खोजेको छ ।

नेपाल एयरलाइन्सले अहिलेको अवस्थामा युरोपेली आकाशमा उड्न अनुमति पाउँदैन । युरोपियन युनीयनमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्सलाई उडान बन्देज छ । इयु कमिसनले हवाई सुरक्षा मापदण्ड तोक्दै नेपाल एयरलाइन्सलाई पनि बन्देज लगाएको हो । त्यसलाई फुकुवा गर्न सरकारका तर्फबाट हालै पहल भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिजो युरोपेली युनीयनकी नेपालस्थित राजदुत भेरोनिका कोडीसँग छुट्टाछुट्टै भेटवार्ता गरे । दुवैले युरोपेली आकाशमा नेपाली विमान उड्ने वातावरण बनाउनेबारे छलफल गरेका थिए । भट्टराईले नेपाल एयरलाइन्समाथि युरोपको आकाशमा उड्न लगाइएको बन्देज फुकुवा गर्न पहलका लागि आग्रह गरेका थिए ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र युरोपेली युनीयनकी नेपालस्थित राजदुत भेरोनिका कोडीबीचको भेट

चिनियाँ विमान १५ साउनबाट सञ्चालन नगर्ने निर्णयलगत्तै इयुकी राजदुतसँग यसै विषयमा सरकारका प्रभावशाली मन्त्रीहरुको भेटलाई अर्थपूर्ण मानिएको छ । वाइडबडी जहाजले पर्याप्त काम नपाइरहँदा नेपाल एयरलाइन्सले युरोपको आकाशतर्फ ध्यान दिन थालेको छ । जापान उडान पनि उत्साहप्रद हुन सकेको छैन । जसका कारण वाइडबडी सेतो हात्ती सावित भइरहेको छ ।

चिनियाँ विमान ल्याउँदा र उडाउँदा नेपालले वायुसेवा क्षेत्रमा ठुलो मूल्य चुकाउनुपरेको देखिदैछ । विमान नल्याउँदै नेपाली वायुसेवा युरोपेली आकाशमा बन्देज थिए । तर, त्यसलाई हटाउन पहल भइरहेको थियो । चिनियाँ विमानको सुरक्षाको प्रश्न उठेसँगै त्यो पहल रोकिएको थियो ।
सन् २०१२ मा नेपाल एयरलाइन्सले एभिएसन इन्डस्ट्रि कर्पोरेशन चाइनासँग दुईवटा ५६ सिटको एम ए ६० र चारवटा १७ सिटको वाई १२ ई को खरिद सम्झौता गरेको थियो । सम्झौता अनुसार एउटा एम ए ६० र एउटा वाई १२ ई चीनले अनुदान दिएको थियो ।

नेपालगञ्जमा दुर्घटनामा परेको चिनियाँ जहाज

अनुदान दिएको विमानको मुल्य त्यतिबेला २ अर्ब ९४ करोड थियो । बाँकी ४ वटा विमान ३ अर्ब ७२ करोडमा खरिद गरिएको थियो । सन् २०१४ मा ल्याएको विमानले पाँच वर्षमा मात्र खरिद रकमबाहेक एक अर्ब ९० करोड नोक्शानी दिएको नेपाल एयरलाइन्सले जनाएको छ । अब नोक्शानी थेग्न नसक्ने भन्दै विमानको उडान नै बन्द गर्नुपरेको छ । प्रतिवर्ष ३८ करोड नोक्सानी भएको उल्लेख छ । बिमानको खरिद रकमसहित नोक्शानी समेत जोड्दा ५ अर्ब ६२ करोड नोक्शानी परेको छ ।

निगमसँग रहेकामध्ये दुईवटा एम ए ६० मध्ये एक ग्राउन्डेड, चारवटा वाई १२ ई मध्ये एउटा नेपालगञ्जमा पूर्ण क्षतिसहित तीनवटा ग्राउन्डेड छ । सन् २०११ मा नेपाल र बङ्गलादेशको प्राविधिक टोली विमानको अवलोकन गर्न पुगेको थियो । बङ्गलादेशको टोलीले विमान आफ्नो देशका लागि उपयुक्त नभएको रिपोर्ट बुझायो । नेपाली प्राविधिकले भने ठिक रहेका सुझाव दिएका थिए । विज्ञकै सुझावमा विमान खरिद प्रक्रिया बढाइएको थियो ।

चिनियाँ विमान साउनको मध्यबाट थन्काउँदै गर्दा भदौबाट हवाई सेवा सुचारु गरिनेछ । तर, कोभिड १९ को जोखिमले थिलथिलो भएको वायुसेवा उकास्न सहज छैन । यो वर्षभर नयाँ गन्तव्य खोज्न सकेमा ठुलै राहत हुनेछ । ताकि अर्को वर्ष वाइड बडी र न्यारो बडी विमानहरुले पर्याप्त गन्तव्य पाएर घाटा कम हुँदै जान सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्