नाम : मन्जु काँचुली (तिवारी)
जन्ममिति : २००७ माघ महिना
हालको ठेगाना : कुलेश्वर–१४
पिता/माताः भीमनिधि तिवारी/भुवनेश्वरी तिवारी
अध्ययन : एमए (प्रथम श्रेणीमा सर्वप्रथम क्लिनिकल साइकोलोजी), ग्राजुएशन (क्रिएटिभ राइटिङ, अमेरिका) एमए र एम एड (अंग्रेजी)
प्रथम प्रकाशित रचना : अज्ञात
प्रकाशित कृति : १५
प्रकाशनोन्मुख कृति :२
यहाँको लेखन कार्य विशेषतः साहित्य कहिलेबाट सुरु भयो ?
सात वर्षको उमेर छँदादेखि सुरु भएको हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
पूज्य पिता भीमनिधि तिवारी, स्वदेशी विदेशी लेखकहरु, गुरुहरु, पत्रपत्रिका, पुस्तक, समाज सबैतर्फबाट प्रोत्साहन पाएँ साथै साहित्य, संगीत र कलामय घरको वातावरण आदिबाट प्रभावित भएँ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ? वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
निरन्तर बगिरहने नदीजस्तै गरी प्रायः सबै विधामा र विशेष गरेर आख्यान र पद्यतर्फ । वर्तमान लेखनतर्फ संख्यामा त म सन्तुष्ट छु तर उनीहरुका लेखनका गुणस्तरतर्फ केहीमात्र सन्तुष्ट छु । आफ्नो लेखनतर्फ त म सन्तुष्ट छु । यही सन्तुष्टि नै मेरो अर्को प्रेरणा हो ।
अन्य नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
पुराना कृति (नछापिएका कथा, कविता, उपन्यास आदि) परिमार्जन गर्दै र नयाँ लेख्दै पनि छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
ठूलै जिम्मेवारी छ । राष्ट्रप्रति साहित्य र स्रष्टाको मात्र होइन– स्रष्टा र साहित्य प्रति पनि राष्ट्रको ठूलै जिम्मेवारी हुनुपर्ने हो । स्रष्टा द्रष्टा पनि हुन् । राष्ट्रको उन्नतिमा उनीहरुले हर किसिमले योगदान दिएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा लेखकको ठूलो भूमिका छ । उनीहरुलाई अवमूल्यन गर्नै मिल्दैन । बुद्धिजीवी, पत्रकार र साहित्कारको राष्ट्र सञ्चालनमा प्रतिनिधित्व हुनुपर्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
मेरा किताब पढिदिनुहोस् । तिनैले बताउनेछन् । सिद्धान्तले साहित्य सिर्जना गर्ने भन्दा पनि साहित्यले विचार वा सिद्धान्त बोलेको (कलात्मक पारामा) म बढी रुचाउँछु । समाज, मनोविज्ञान, कला (शैली), दर्शन, दृष्टिकोण, मानवतावादी इस्यु, विचारहरु आदि आफ्नो लेखनमा समावेश हुन् भन्ने म चाहन्छु ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
अरु दायित्व बहन गरेको छैन भन्न त्यति मिल्दैन होला तर समर्पणको दायित्वचाहिँ अलि भेट्न मुस्किल नै छ कि ? रोजीरोटी र समयाभावकै कारणले पनि होला ।
तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । असन्तोष भएको भए म लेख्ने नै थिइनँ । सिर्जना श्रमभन्दा धेरै फरक हुन्छ । सिर्जनाले खुसी, तागत, आनन्द, प्रोत्साहन र सन्तोष दिन्छ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
पत्रपत्रिका, पुस्तक, संघसंस्था, लेखक क्रियाकलाप आदि संख्यामा धेरै नै बढेका छन् । यो खुसीको कुरो हो । तर स्तरमा चाहिँ मूल्यांकन हुन बाँकी नै छ । स्वदेश र विदेशमा बसेर लेखिरहनुभएका करिब २० प्रतिशत लेखक धेरै राम्रा पनि छन् भन्ने मलाई लाग्छ । हिजो साधनस्रोत कम थियो तर साधना बढी थियो । आज रहर बढी र समर्पण अलि थोरै छ । लेखनमा सिर्जनाशक्ति, समर्पण, अभ्यास, निरन्तरता, अध्ययन, भ्रमण आदिको अत्यन्त आवश्यकता पर्छ । समय र साधनाको अभाव छ । आजको यो विद्युतीय सञ्चारमाध्यमको र यो आर्थिक युगमा (भौतिकवादी) स्रष्टाको ध्यान धेरै ठाउँमा बाँडिएको छ । यसका फाइदा बेफाइदा दुवै छन् ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
भाट साहित्य प्रचारबाजी (प्रोपोगान्डा) साहित्य, आदेशमूलक (डाइड्याक्टिक) साहित्य आदि राम्रो लाग्दैन । प्रयोगवादी साहित्य राम्रो लाग्छ । तर साहित्यलाई नै माध्यम बनाएको र साहित्यलाई नै प्रयोग (युज) गरिएको साहित्य राम्रो लाग्दैन । लेखकको दृष्टिकोण र कला (शैली) ले राम्रो स्थान पाएको साहित्य मलाई राम्रो लाग्छ । पाठकले रुचाउनेमात्र होइन– पाठकको मानसिकतामा परिवर्तन ल्याउन सक्ने साहित्यको नै आज खाँचो छ ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
सानाठूला कुरा, राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटना, अनुभव, अनुभूति, समाज, अध्ययन, चिन्तन आदिले नै प्रेरणा र चेतना दिन्छ जस्तो लाग्छ ।
तपाइँको लेख्ने निश्चित समय छ कि ?
त्यस्तो निश्चित समय त छैन तर पनि लेख्नको लागि मेरो प्यारो समयचाहिँ चकमन्न रात हो ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
कहिले त घरमा लेख्न बस्दा मान्छेले बोलेको सुन्ने चेष्टा नै गर्दिनँ र सुन्दिनँ पनि लेखनमा मस्त हुन्छु । तल्लीनताले गर्दा हो कि कविता त जुनसुकै स्थान, समय वा वातावरणमा लेख्ने गर्छु । आख्यानलाई भने शान्त वातावरणमा आफ्नो कोठामा एक्लै बसेको अवस्था नै ठीक रहन्छ । त्यस्तो अवस्था त विशेष गरेर रातमा मात्र पाइन्छ । त्यसैले प्रत्येक कथालाई मैले एक÷एक रातको निद्रा खर्चेको छु ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
आफूलाई घत लागेको चाहिँ । घटना, व्यक्ति, परिवेश आदिले सकारात्मक वा नकारात्मक तवरले मन छुनेमात्र होइन– मन र मस्तिष्कमा करेन्ट नै लगाइदिन्छन् । मलाई तिनीहरुले झस्काइदिन्छन् । चेतना भरिदिन्छन् । तिनै चेतना म शब्दको माध्यमबाट सञ्चार गर्ने छु । मेरो अघि ती आफैं उभिन आउँछन्, खुसी र दुःख बोल्छन्, कल्पनामा पनि ती कति सजीव भएर अगाडि उपस्थित हुन्छन् । आफैंलाई अचम्म लाग्छ । म जे देख्छु त्यही लेख्छु । विषयवस्तु म छान्दिनँ । ती आफै आउँछन् । योजना बनाएर म कहिले पनि लेख्दिनँ । स्वतः प्रवाह भएको अवस्थामा मात्र लेख्छु ।
सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
माथि भनेका कुराबाट पनि यसको उत्तर आउँछ होला । यो प्रश्नको जवाफ समालोचक र पाठकलाई नै सोध्नुहोला । उनीहरुलाई सोधे वेस हुनेछ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यानमा धेरै होलान् तर पद्य पढ्न रुचाउने पाठकको संख्या पनि धेरै नै छ– कम छैन । पत्रपत्रिका शैलीमा लेखिएका सरल किताब अधिकांश पाठकले पढ्ने गर्छन् । पाठक बढी वा घटी हुनुभन्दा पनि लेखनको स्तरीयताचाहिँ मूल कुरा हो ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
काल्पनिकतामा अझ बढी सजीवता हुन्छ । सजीव लेखन काल्पनिक पनि हुन्छ । यथार्थ सिधा हुन्छ । कल्पनाले यथार्थलाई माधुर्य भरिदिन्छ । कल्पनै नभएको यथार्थमा साहित्यिक मजा नै आउँदैन । साहित्य ललितकलाभन्दा पनि उच्च कला हो । रंग र आकारलाई प्रायः जुन अर्थ लगाउन पनि शायद मिल्छ तर शब्दलाई जुनसुकै अर्थ लाउन मिल्दैन । हाम्रा रंग अलंकार हुन् ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
बाध्य भएर त अहिलेसम्म केही पनि गर्नुप¥या छैन । बाध्य भएरचाहिँ म कहिले पनि साहित्य लेख्दिनँ । प्रेरणाविनाको कुनै बाध्यताले लेखिएको साहित्य राम्रो हुँदैन ।
साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
साइकियाट्रिष्ट या समाजसेवी
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
बाध्य भएर होइन प्रेरक भएर लेखे राम्रो । स्तरीयता, निरन्तरता, समर्पण आदि कायम राखे राम्रो । सुन्ने, सुनाइने, सुझाव लिने÷दिने, पढ्ने, चर्चा गर्ने, साहित्यिक समाजबाट सम्पर्कहीन नहुने आदि बानी गरे राम्रै होला ।
अन्त्यमा केही भन्न छुटेको भए…
मेरो मनको भावना उजागर गर्ने मौका दिनुभएकोमा रिपोर्टर्स नेपालको अनलाइन पत्रिकालाई धन्यवाद दिन चाहन्छु ।
प्रस्तुति : जयराम सापकोटा