Logo

भोलीदेखि सार्वजनिक यातायात चल्ने



काठमाडौँ, ७ साउन। साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी सङ्गठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् । तर मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् ।

 

मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “अब मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउने छ भन्ने आशा गर्दछौँ । ”

 

व्यवसायीले कोरोनालाई ध्यानमा राखी सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठूला सबै प्रकारका सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएका छन् । कोरोना बीमाका लागि श्रमिकको विवरण सम्बन्धित कम्पनीले एक हप्ताभित्र महासङ्घको कार्यालयमा पठाउन महासङ्घले सूचना गरेको छ ।

असार २६ गते सरकारले अकस्मात् छोटा दूरीका सार्वजनिक यातायात खुला गर्दा आफूहरू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सार्वजनिक यातायात सञ्चालन विधि, श्रमिक तथा यात्रुको स्वास्थ्य सुरक्षाबारे छलफल नै नगरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णयले आफूहरूलाई अन्योल बनाएको नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बताउनुभयो ।
छोटो दूरी मात्र नभई मध्यम र लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएपछि व्यवसायी सेवा सुचारु गर्न तयार भएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्