Logo

१२ दिनमै छोरा मारिएको भन्दै पीडित युवती प्रहरीको शरणमा



सिन्धुली, ७ साउन । दुधौली नगरपालिका–१३ भित्राहाकी एक युवतीले असार ६ गते छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो। उनी असार १८ गते बारीबाट फर्किंदा स्वस्थ छोराले प्राण त्यागिसकेको थियो। श्रीमान् रमेश तामाङको परिवारले उक्त घटना गराएको पीडित युवतीको दाबी छ।

परिवारकै सदस्यलाई उनले किन दोष लगाइन् त र घटनाक्रम यस्तो रहेछ। २०७६ सालको दसैंको रमझम थियो। पारिवारिक सम्बन्ध भएका स्थानीय रमेश खाना खान ती युवतीका घरमा पाहुना आए। परिवारका सदस्य सबै खुसी थिए। तर, २० वर्षीय मीतदाइ रमेशले ती युवतीको अस्मितासँगै खुसी पनि खोसे। रात पर्‍यो भन्दै उनकै घरमा बसेका रमेश जबरजस्ती करणी गरी भागे। त्यसपछि रमेशको धम्कीका कारण उनले प्रतिवाद गर्न सकिनन् न परिवारलाई जानकारी दिइन्।

गर्भ रहेको ८ महिनापछि पेटको आकार बढ्दै गएपछि उनलाई आफन्तले सोधीखोजी गरे। घटनाबारे थाहा पाएपछि वैशाख २८ गते स्थानीयको रोहवरमा उनलाई रमेशकै जिम्मा लगाइयो। रमेशले जिम्मा लिए पनि परिवारले बुहारी स्वीकार गरेन। उनलाई घरभन्दा झन्डै ४ सय मिटर टाढा छाप्रो बनाएर राखियो।

‘म असार १८ गते दिउँसो छोरो समाएर छाप्रोमा बसेकी थिएँ। आमाजूले मलाई बारीमा घाँसको भारी धकेल्न बोलाउनुभयो’, पीडित महिलाले भनिन्, ‘त्यसपछि म छोरोलाई कोक्रोमा सुताएर आमाजू भएको ठाउँमा गएर फर्किंदा मेरो कोख रित्तिसकेको रहेछ।’

कहिल्यै नबोल्ने आमाजूले त्यस दिन फोन गरेको उनको भनाइ छ। ‘म जाँदा घाँसको भारी नै हालेको रहेनछ। दिदीले मलाई केही समय त्यहाँ अल्मलाएर राख्नुभयो’, उनले भनिन्, ‘पछि घर आएर हेर्दा कोक्रोमा छोरोलाई ओढाएको कम्मल पनि भुइँमा फ्याँकिएको थियो। घाँटीमा नीलडाम थियो। नाकबाट पानी बगेको थियो। मैले हारगुहार गरेर आफन्तलाई खबर गर्दै थिएँ। तर, आमाजूलगायत परिवारले बच्चालाई लगेर खाल्टोमा पुरिहाले।’ शिशुको शव घरभन्दा एक सय मिटर तल लगेर गाडिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्