Logo

सचिवहरूको सरुवा



काठमाडौं, ७ साउन । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई ल्याइएको छ । बस्याल गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत थिए ।

यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायालाई ल्याइएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारप्रसाद न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने भूमि व्यवस्था मन्त्रालयमा कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई ल्याइएको छ ।

मन्त्रिपरिषद् बैठकले हालै सचिवमा बढुवा भएका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा र मानबहादुर विकेलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव भने अझै रिक्त छ । कर्णाली प्रदेशको प्रमुख सचिव पद पनि रिक्त भएको छ । सूचना तथा सञ्चार प्रविधि, श्रम र शिक्षा मन्त्रालय झन्डै साढे दुई महिनादेखि सचिवविहीन रहँदै आएका थिए । यो खबर आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्