काठमाडौं, ७ साउन । कम्युनिष्ट आन्दोलनका योद्धा बर्मन बुढाको निधन भएको छ। ९० वर्षको उमेरमा बुढाको आज (बुधबार) बिहान निधन भएको हो । बुढाको आजै अन्त्येष्टि गरिँदैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका थिए । बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।
दाहालले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको बताएका छन् । सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहनुभएको थियो, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ”, वक्तव्यमा अध्यक्ष दाहालले भनेका छन्, “सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।” उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गर्नुभएको छ । बुढाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम