Logo

पृथ्वी राजमार्ग अझै खुलेन



धादिङ, ८ साउन । अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेको छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ ।

वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ  भने काठमाडौँतर्फ जाने सयौँ सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । खोलाले पुल र सडक जोड्ने १२ मिटर भाग भत्काएको छ । खोलाले भेलले भत्काएको भागमा सडक डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार नेपाली सेना र सडक विभागका प्राविधिक लगायतका जनशक्ति ग्याबिन जाली भर्ने काममा लागिरहेका छन् । काममा कुनै समस्या नआए बिहीबार बेलुकीसम्ममा राजमार्ग खुल्न सक्ने प्राविधिकहरू बताउँछन् । अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति उक्त पुलमा जाली भर्ने काममा सम्लग्न छन् ।

राजधानी जोड्ने प्रमुख मार्ग भएकाले सवारी चापलाई मध्यनजर गर्दै सक्दो छिटो सडक खुलाउन काममा तीव्रता दिइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभएको छ । अधिकांश ठूला मालवाहक सवारी साधनहरूले काठमाडौँ जान यही सडकखण्ड प्रयोग गर्दछन् । लकडाउनले यात्रुवाहक सवारी नचलेपनि दैनिक आवातजावत गरिरहेका ठूला मालवाहक र निजी सवारीसाधन अलपत्र परेका छन् । बाढीपहिरोले राजमार्ग छेउछाउका घर, पसल, अस्थायी प्रहरी चौकी, सवारीसाधन र सडक नै बगाएको छ ।

पृथ्वीराजमार्ग क्षेत्रमा ११ वटा ठूला र ५० भन्दा बढी साना पहिरा छन् । पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्