Logo

रञ्जन छुटाउने सर्वोच्चको फैसलाविरुद्व सर्वोच्चमै पुनरावेदन दर्ता



साउन ८, काठमाण्डौ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको हो । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् ।

सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्था छ । फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्