Logo

हङकङका नागरिक भित्र्याउन बेलायतले आवेदन खुलाउँदै



लण्डन, ९ साउन । बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ । २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो । बेलायतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायती पासपोर्टधारीका निकटस्थ पारिवारिक नातेदारहरुले पढ्न वा काम गर्न बेलायत जान पाउने जनाएको छ ।

 

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै त्यहाँका नागरिकलाई बेलायती नागरिकता दिने जनाएको हो । तर बेलायतको यस्तो प्रस्तावप्रति चीनले आपत्ति जनाउँदैआएको छ । चिनियाँ अधिकारीहरुले बेलायतको यस्तो कदमको विरोध गर्दै हङकङका नागरिक चिनियाँ नै भएको जनाएका छन् ।

 

‘यूके र हङकङका जनताबीच बलियो ऐतिहासिक सम्बन्ध छ । र हामी उनीहरुको स्वतन्त्रताको पक्षमा बोलेको बाचा पूरा गर्छौँ,’ बेलायती गृहमन्त्री प्रिती पटेलले बताएकी छन् । हङकङका नागरिकका लागि बेलायतले ल्याएको नयाँ नीति अनुसार नयाँ प्याकेज मार्फत बेलायत आउने हङकङका नागरिकले बेलायतमा ५ वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन् । त्यसपछि थप १२ महिनापछि उनीहरुले ब्रिटिश नागरिकताको लागि आवेदन दिन पाउनेछन् ।

बेलायती उपनिवेशमा रहेको हङकङ १९९७ मा एक देश दुई नीति अन्तर्गत रहने गरी चीन मातहत पुगेको थियो । यो देश अहिले पनि चीनसँग एक देश, दुई नीति अनुसार सञ्चालन हुँदैआएको छ ।

पछिल्लो समय हङकङमा राजनीतिक अस्थिरता सँगै अमेरिकी प्रभाव पनि बढ्न थालेको छ । यस्तैमा चीनले हङकङमाथि नयाँ कानुन लागु गराउँदै पृथकतावादी माग उठाउन बन्देज लगाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्