Logo

बाढी पहिरो उद्धार तथा राहतमा जनशक्ति परिचालन



काठमाडौँ, ९ साउन। बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोका साथै डुबान हुँदा खोज, उद्धार तथा राहत वितरण छिटो छरितो र प्रभावकारी बनाउन हेलिकोप्टरसहित उद्धार टोली परिचालन गरिएको हो ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले विपद् जोखिममा परेकाको खोज तथा उद्धार, उपचार र राहत वितरणमा हवाई साधनका अतिरिक्त स्थलगत स्रोत साधनसमेत प्रयोग गरिएको बताउनुभयो । प्रवक्ता पौडेलले त्यसका अतिरिक्त सैनिक उद्धार फौजले अस्थायी तटबन्ध, अस्थायी पुल, पहिरोबाट अवरुद्ध सडक खुलाउन र जोखिममा रहेका स्थानीयवासीको ‘रबरबोट’ प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ भन्नुभयो ।

झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही लगायतका जिल्लामा बाढी पहिरोको खतरामा रहेका स्थानीयवासीको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै चितवनको नारायणी किनारा र भक्तपुरको हनुमन्ते खोलामा अस्थायी तटबन्ध निर्माण गरिएको सेनाले जनाएको छ ।

रसुवा, पर्वत, तनहुँ, पाल्पा र मनाङका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने कार्य जारी छ । दार्चुला मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरद्वारा उद्धार गरी नेपालगञ्ज पु¥याइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

बाढी पहिरो र डुबान प्रभावित व्यक्तिको खोज तथा उद्धार कार्यमा सैनिक जनशक्ति तथा स्रोत साधन अनवरत रूपमा परिचालन गरी आपत्कालीन अवस्थाका लागि काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा गरी चार हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।

नेपाल प्रहरीले पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा दुई हजार ६९८ सुरक्षाकर्मी परिचालन गरेको छ । बाढी पहिरो प्रभावित जिल्लामा तत्कालै परिचालन हुन सक्ने गरी थप उद्धार टोली तयारी अवस्थामा राखेको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्