Logo

निषेधाज्ञा जारी गरेको दोस्रो दिन राजविराज सुनसान



जनकपुर, ९ साउन: सङ्क्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ । औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यसेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैँकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवा बाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावतमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

भिटिएमको अभाव

सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाव सङ्कलनका लागि आवश्यकपर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले गत, बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताए । कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता प्रमुख यादवले बताए ।

पर्साको सदरमुकाम वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि वीरगञ्जमा पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ । मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको अवस्थामा कसरी कोरोना सङ्क्रमण देखिएको जानकारी गराएपछि समुदायमा कोेरोना फैलिएको भन्ने डर देखिएको हो । मुलुकमा बन्दाबन्दी हटेको भए पनि कोरोनाबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुपर्ने, भीडभाड नगर्ने र स्यानीटाइजर र साबुनपानीले हात धुनेतर्फ बढी सचेत रहनुपर्ने देखिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्