काठमाडौं, १० साउन । सर्वोच्च अदालतले पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको फैसलाको चौतर्फी आलोचना भैरहेको छ। पहिलोपटक न्यायालयको विरुद्धमा सडकमा आवाज उठेका छन् । कोइरालाले पत्नी हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए । कोइरालालाई सर्वोच्च अदालतले कैद सजायमा राहत दिएको विषय यतिबेला विवादमा तानिएको छ । कोइरालाको सवालमा सर्वोच्च अदालतबाट भएको फैसलामा असन्तुष्टि जनाएका छन् ।
शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गीता ढकालका बुवा हरेराम ढकालले अदालतको फैसलाप्रति असहमति जनाएका छन् । उता, अधिवक्ता स्वागत नेपालले पनि कोइरालाको मुद्दाबारे सर्वोच्च अदालतको फैसला १०० प्रतिशत बेठिक भएको टिप्पणी गरे ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले असारको दोस्रो साता उक्त मुद्दामा फैसला सुनाउँदै कोइरालालाई सजाय कटौती गरेको थियो । तोकेको ८ वर्ष ६ महिना कैद सजाय पूरा भइसकेका कारण रञ्जन कोइराला रिहा भएका छन् । सार्वजनिक रुपमा यद्यपि यसबारेको बहस अझ बढ्दै गएको छ । सामाजिक सञ्जालमा अधिकांशले सर्वोच्च अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । कतिपयले त यस्तो फैसला गर्ने न्यायाधीशविरुद्ध महाभियोग लगाउन मागसमेत गरेका छन् ।