Logo

गोविन्दराज जोशीसहित तीन नेता निष्कासित



काठमाडौँ, ११ साउन । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।

 

अनुशासन समितिले शनिबार सार्वजनिक गरेको निर्णयअनुसार पूर्व सहमहामन्त्री जोशी र कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको छ ।

 

गोविन्दराज जोशीले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिँदा पौडेलले पराजय भोग्नुपरेको थियो । साथै तनहुँ नेपाली काँग्रेस जिल्ला कार्य समितिको समानान्तर अर्को कार्यसमिति गठन गर्ने मुख्य भूमिका पनि जोशी रहेको ठहर अनुशासन समितिले गरेको छ । कुनै बेला कांग्रेसमा निकै शक्तिशाली मानिएका जोशी अहिले पार्टीबाटै निष्कासनमा पर्नुभएको छ ।

उता कैलालीका ओझाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार डा। आरजु राणा देउवालाई हराउन सक्रिय भूमिका खेलेको ठहर गर्दै पार्टीको अनुशासन समितिले कारबाही गरेको हो ।

ओझाले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनका लागि गरेको कुराकानीको अडियो रेकर्डसहित पार्टीमा उजुरी परेको अनुशासन समितिले जनाएको छ । डा। आरजु काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती हुनुहुन्छ । ओझा स्थानीय भएकाले बाहिरको उम्मेदवारलाई टिकट दिएको भन्दै आधिकारिक उम्मेदवारलाई हराउन लाग्नुभएको ठहर समितिको छ । निर्वाचनमा आरजु पनि पराजित हुनुभएको थियो ।

यसैगरी, अनुशासन समितिले डडेल्धुरा जिल्ला कार्य समितिका सचिव रामबहादुर विष्टलाई महिला सदस्यलाई कुटपिट गरेको उजुरी परेपछि तीन वर्षका लागि निष्कासन गरेको छ । केन्द्रीय सदस्य भीष्मराज आङदम्बे संयोजक र सदस्यहरू देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरीले संयुक्तरुपमा हस्ताक्षर गरेको निर्णयमा सो कुरा उल्लेख छ । गएको सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवारलाई असहयोग गर्ने २७९ जनालाई निर्वाचनकै क्रममा पार्टीबाट निष्कासन गरिएको जानकारी सदस्य गुरुङले दिनुभयो । उजुरी परेर स्पष्टीकरण सोधिएका कतिपय व्यक्तिलाई जिल्ला सभापतिहरूले पत्र नै नबुझाएको पाइएपछि ती सभापतिहरूलाई पनि सचेत गराइएको छ । निर्वाचनको क्रममा परेका अन्य व्यक्तिको उजुरीमाथि प्रमाण नपुगेको समितिले ठहर गरेको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्