Logo

किन काँग्रेस प्रवेश गर्दैछन् सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर



काठमाडौं, ११ साउन । नेपालको राजनीतिमा पाँच पटक प्रधानमन्त्री बनेका नेताका रुपमा सुर्यबहादुर थापाको नाम आउँछ । पञ्चायत देखि गणतन्त्रसम्म सुर्यबहादुर सदावहार राजनीतिक खेलाडीका रुपमा रहेका थिए । उनले आफू जिवितै छँदा छोरा सुनिलबहादुर थापालाई राजनीतिमा सक्रिय बनाए । अहिले तिनै सुनिलबहादुर आफ्नै पिताले स्थापना गरेको दल त्यागेर नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् ।

राप्रपाका संस्थापक अध्यक्ष सुर्यबहादुर थापाको विरासतको राजनीति गर्दै आएका सुनिलबहादुरले पार्टीबाट राजीनामा दिंदा बाबुको नाम समेत उल्लेख गरी उनको नीति विपरित राप्रपा बढ्न खोजेको उल्लेख गरे । विशेषगरी गणतन्त्र छाडेर राजसंस्थाको पक्षमा उभिन खोजेकोमा सुनिलबहादुरको असन्तुष्टि देखिन्थ्यो । जसलाई उनले आफ्नो बाबुको मार्गदर्शन विपरित पार्टी चलेको बताए ।

तर, सुनिलबहादुरको पार्टी परित्याग र काँग्रेस प्रवेशको चर्चाबारे राप्रपा अध्यक्ष कमल थापाको धारणा फरक छ । उनले सुनिलबहादुर काँग्रेस प्रवेश गरे सुर्यबहादुर थापाको विरासतको अन्त्य हुनसक्ने भन्दै ट्वीट गरेका छन् । राप्रपाका संस्थापक अध्यक्षको छोरा नै पार्टी छाड्ने अवस्था आउनु आफैमा गम्भीर विषय हो ।

सुनिलबहादुर काँग्रेसमा प्रवेश गर्ने निश्चितप्रायः भइसकेको छ । उनले पदाधिकारीको जिम्मेवारी पाउने सम्भावना बलियो छ । सुनिलबहादुरले लिएको राजनीतिक एजेन्डा राप्रपाले लिएको भन्दा फरक र काँग्रेससँग मिल्दोजुल्दो थियो । उनी गणतन्त्र पक्षधर थिए । तर, वृहत प्रजातान्त्रिक शक्तिबीच एकतामा जोड दिन्थे । यो सुर्यबहादुरको लाइन हो । अब काँग्रेसमा रहेर उनले राजनीतिक करिअर बढाउन खोजेको देखिन्छ ।

काँग्रेसमा रहँदा उनी ठुलो दलको नेता भएका छन् । पारिवारिक रुपमा पनि कतिपय काँग्रेस नेताहरुसँग उनको सम्बन्ध बलियो छ । यसले पनि सहज वातावरण बनाइदिएको छ । गृहजिल्ला धनकुटामा बलियो पकड बनाएका उनका अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो छ । यही आधारमा उनले काँग्रेसको राजनीतिमा अगाडि बढ्ने सम्भावना देखेको बुझिएको छ । तर, राप्रपामा जस्तो उनलाई नयाँ दलमा प्रवेश गर्दा सजिलो भने छैन । काँग्रेस उनका लागि नितान्त नयाँ दल हो । त्यहाँ लामो संघर्ष गरेका नेताहरु रहेका छन् । उनीहरुले सुनिलबहादुरलाई सजिलै स्वीकार्ने सम्भावना कमजोर छ । तर, शिर्ष तहमै बलियो सम्बन्ध भएकाले उनले चुनौतीलाई अवसरमा बदल्ने आँट बनाएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्