Logo

मनसुन पुनः सक्रिय, आज यी जिल्लामा हुनेछ व्यापक बर्षा



काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।

चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको थियो । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ ।

यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ । आजबाट मनसुन पुनः सक्रिय भएकाले केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ ।

मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ ।

सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षा हुने छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्