१२ साउन: भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।
ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती बिमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।
फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।
भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू बिमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू बिमान खरिद गरेको हो ।
नयाँ लडाकू विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।
लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी विमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ। एएनआई