Logo

१४औं महाधिवेशन कांग्रेसमा तीन गुट, आठ आकांक्षी



काठमाडौं, साउन १३ । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । नेता पौडेलले अनामनगरमा रहेको एक घरलाई भेटघाट गर्ने थलो बनाइसकेका छन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् । उनले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्