Logo

मुस्ताङको सौरुमा २२ घर पहिरोको उच्च जोखिममा



जोमसोम, १३ साउन । मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढीरपहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु गाउँ उच्च जोखिममा परेको हो ।

बेनी-जोमसोम मुख्य सडकको कालिगण्डकी पूर्व पारीपट्टी केही भिरालो र केही समथर जमिनमा अवस्थित सौरु गाउँमा बर्खायाममा नदी कटान र बाढी÷पहिरोले जोखिम सृजना गर्छ । सौरुको माथिल्लो घरधुरीलाई ठाडो खोलाको बाढी र पहिरो अनि तल्लो घरधुरीलाई कालिगण्डकी नदीको कटानले बर्सेनि सास्ती दिने गरेको थासाङ(२ का वडाध्यक्ष नरप्रसाद हिराचनले बताए ।

वडाध्यक्ष हिराचनका अनुसार गत साउन ५ गतेको बाढीले सौरु गाउँ झनै जोखिममा परेको उल्लेख गरे । गाउँमाथिको भिरालो सतहमा तम खोलाको बहावले तटबन्धन र सिंचाइ कुलो समेत बगाएको र बस्ती, खेतीयोग्य जमिन र ठाडो खोलाको सतह समान हुन थालेकाले बस्ती थप जोखिममा परेको वडाध्यक्ष हिराचनले जानकारी दिए । तम खोलाको बाढीले सौरु गाउँका हिमालध्वज तुलाचनको परिवार विस्थापित भएको छ । तुलाचनको घरमा बाढीले पुरै घर जलमग्न भएको वडाध्यक्ष हिराचनले बताए ।

विस्थापित परिवारलाई गाउँकै गुम्बामा स्थान्तरण गरिएको छ । यस्तै, बाढीले सौरु गाउँमा रहेको करिब २५ रोपनी जग्गामा लगाइएको अन्नबालीमा क्षति पुर्‍याएको छ । बाढीले खेतमा लगाइएका मकै ,सिमी ,फापरलगायतका बालीमा क्षति पुगेको छ भने खेतमा लगाइएको करिब १ सयभन्दा बढी स्याउका बिरुवा बालुवा र गेग्रानले पुरिएको स्थानीय दिपक तुलाचनले जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्