Logo

लाइसेन्स आवेदन दुुई महिनापछि मात्र



काठमाडौँ, १४ साउन । सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हँुदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।

विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ । “अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ”, महानिर्देशक हमालको भनाइ छ ।

सात लाख लाइसेन्स प्रिन्ट

यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा बाँकी रहेका करिब सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । गत माघमा बाँकी रहेका सात लाख स्मार्ट लाइसेन्स छ महिनामा सक्ने गरी काम सुरु गरिएको थियो तर कोरोनाले नयाँ आवेदन रोक्का भएपछि बाँकी रहेको काम गर्न सजिलो भएको विभागले जनाएको छ । यस अवधिमा सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको र अब ४०÷४५ हजार लाइसेन्स साउनसम्म सक्ने तयारी गरिएको छ । विभागले बन्दाबन्दीमा प्रिन्ट भएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ ।

विभागले तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी दैनिक पाँच हजार लाइसेन्स प्रिन्ट गरिरहेको छ । प्रिन्ट गर्नुपर्ने लाइसेन्सको चाप चार वर्षदेखि बाँकी रहेपछि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्