Logo

नयाँ प्रवेसीलाई भेदभाव हुँदैन ढुक्क हुनुस्ः देउवा



ललितपुर, १४ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरूबीच एकताको आवश्यकता भएकाले अन्य पार्टीबाट आएका भनेर कसैलाई पनि भेदभाव नहुने बताउनुभएको छ ।

सभापति देउवाले भन्नुभयो, ‘‘तपाईहरू लोकतन्त्रमाथि खतरा बढेको बेला काँग्रेसमा आउनु भएको छ, लोकतान्त्रिक शक्तिहरूबीचको एकताको आवश्यकता भएका बेलाको तपाईंहरूको आगमन महत्त्वपूर्ण हुन्छ, अरू पार्टीबाट आएको भनेर भेदभाव हुँदैन, ढुक्क हुनुस् ।’’

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो विचार राख्नुभएको हो । उहाँले पार्टीभित्र छलफल गरेर नवप्रवेशीहरूको उचित मूल्याङ्कन गरिने विश्वास पनि दिलाउनुभयो । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापासहितका राप्रपाका नेताहरू मङ्गलबार बिना शर्त नेपाली काँग्रेसका प्रवेश गर्नुभएको हो । नेता थापा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का पूर्वमहामन्त्री हुनुहुन्थ्यो । नेता थापासहितका ३० जना नेताले केही दिनअघि राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

नवप्रवेशी नेता थापासँग मन्त्रिपरिषद्मा काम गरेको स्मरण गर्दै पूर्व प्रधानमन्त्री देउवाले थप्नुभयो, ‘‘मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हुँ, उहाँ राम्रो काम गर्न सक्ने मानिस हो, म धेरै खुसी छु उहाँ काँग्रेसमा आउँदा । कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्नुहुन्थ्यो ।’’
वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरूले संविधानले आत्मसात् गरेको व्यवस्थालाई अझैसम्म स्वीकार गर्न नसकेको र सकेसम्म व्यवस्था नै परिवर्तन गर्ने सोचका साथ कम्युनिष्ट शक्तिहरूले चलखेल गरिरहेको आरोप लगाउनुभयो ।

यसैगरी, उपसभापति विमलेन्द्र निधिले राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरूलाई अहिले पार्टी सदस्यता मात्रै दिइएको र पार्टीमा छलफल गरेर जिम्मेवारी दिइने जानकारी दिनुभयो । उपसभापति निधिले भन्नुभयो, ‘‘तपाईंहरू काँग्रेसमा प्रवेश गर्नुभयो, अब केन्द्रीय समितिमा छलफल हुन्छ, त्यसपछि कुन पदमा कसरी क–कसलाई कहाँ व्यवस्थापन गर्न भन्ने सभापतिले निर्णय गर्नुहुन्छ ।’’

राप्रपा परित्याग गरेका ३० नेतामध्ये मङ्गलबार २१ जना प्रवेश गरेका र अन्य केही नेता जिल्लामै प्रवेश गर्ने जानकारी दिइएको छ । नेता थापासँगै राप्रपाका पूर्व सहमहामन्त्री विष्णुविक्रम थापा, राप्रपाका केन्द्रीय सदस्यहरू दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि काँग्रेस प्रवेश गर्नुभएको छ । राप्रपामा रहँदा प्रवक्ता रहनुभएका किरण गिरी भने मातृशोकमा रहेकाले कार्यक्रममा आउन नसकेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्