Logo

नेकपाका युवा नेताको चिन्ताः दुर्घटना नजिक



काठमाडौँ, १४ साउन । सत्तारुढ दल नेकपा एकता प्रक्रिया जटिल बन्दै गएको बेला युवा नेताहरुले चिन्ता प्रकट गरेका छन् । पर्यटनमन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पार्टीको वर्तमान स्थितिलाई लक्षित गर्दै अवस्था दुर्घटनातर्फ उन्मुख भएको बताए । उनले सबैलाई अब रोकिनुपर्ने सुझाव पनि दिएका छन् । मंगलबार नेता भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’

नेता भट्टराईले उक्त अभिव्यक्तिको प्रसंग नखुलाए पनि सामाजिक सञ्जालमा उनको प्रतिक्रियामा कमेन्ट गर्नेहरुले पार्टी विभाजन उन्मुख अवस्थालाई चित्रित गरेका छन् । पछिल्लो समय नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र ओली इतर समूहबीच टकराब चलिरहँदा मन्त्री भट्टराईबाट यस्तो प्रतिक्रिया आएको हो ।

झण्डै एक महिनाअघि ओलीविरुद्ध प्रचण्ड, वामदेव गौतम, माधव नेपाल लगायत नेताहरु छलफलमा जुटिरहँदा योगेश पनि ओलीविरोधी समूहसँग नियमित सम्पर्क र छलफलमा थिए । अध्यक्ष ओलीले पार्टी बैठक छल्दैआएपछि अन्य नेताहरु रुष्ट बनेका छन् । यही साता अर्का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिलाई पार्टी विभाजनको संकेतको रुपमा पनि व्याख्या गरिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्