काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली बामदेव गौतमबाट निकै खुशी भएका छन् । फुटको संघारबाट पार्टीलाई जोगाएको भन्दै उनले गौतमको खुलेर प्रशंशा गरेका छन् ।
बालुवाटारमा निकटस्थसँगको छलफलमा ओलीले गौतमले उचित समयमा आफूलाई सहयोग गर्दै आएको समेत खुलाए । उनले अब गौतमलाई आफूले पनि सक्दो सहयोग गर्ने बचन दिएको जानकारी दिए ।
हिजो पारिवारसहित डिनरमा भैंसेपाटीस्थित बामदेव निवासमा पुगेका ओलीले गम्भीर छलफल गरेको बुझिएको छ । उनले गौतमलाई केही महत्वपूर्ण प्रस्ताव गरेको समेत बुझिएको छ । जसमा राष्ट्रियसभा सदस्य बनाएर सरकारमा दोस्रो वरियतामा लाने विषय समेत रहेको स्रोतले जानकारी दिएको छ । गौतमले आफू सरकारमा अहिले जानेभन्दा पनि भविष्यमा नेतृत्व गर्नेगरी बढ्न खोजेको र त्यसका लागि सहयोगको अपेक्षा गरेको जवाफ दिएका थिए ।
राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने एक सदस्य खाली छ । जसमा बामदेवको चर्चा चल्दै आएको छ । उनलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने भन्दै विगतमा पनि ओलीले पार्टी सचिवालयमा प्रस्ताव गरेका थिए ।
ओलीको राजीनामा माग्दै आएको प्रचण्ड र माधवकुमार नेपाल समुहबाट टाढिएर गौतमले पार्टी फुटबाट जोगाउने भन्दै हिजो छ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । जसमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट नहटाउने बुँदा प्राथमिकतामा राखिएको छ । लगत्तै ओली उत्साही भई गौतमलाई भेट्न निवासमै पुगेका थिए ।-Photo Source: FB of Harish Gautam