Logo

विभाग विस्तारप्रति पौडैल समूहको असन्तुष्टि, सभापति देउवालाई लिखित ध्यानाकर्षण



काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया भएसँगै असन्तुष्टिहरु देखा पर्न थालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट केन्द्रीय सदस्यको बुधबारको भेलाले विभागलाई पूर्णता दिने काम रोक्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। ‘सुरुमा सभापतिज्यूलाई लिखित ध्यानाकर्षण गराउँछौं, त्यसको सम्बोधन नभए लिखित पत्र बुझाउने निर्णय भएको छ,’ पौडेलनिकट केन्द्रीय सदस्य कल्याण गुरुङले भने।

सभापति देउवाले करिव २० विभाग गठन गरेका थिए। फागुन १९ गते चार वर्षे औपचारिक कार्यकाल सकिन केही दिन अघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए। विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर पछिल्लो समय देउवाले विभाग विस्तारलाई तीब्रता दिएपछि उनीहरु थप चिढिएका हुन्। देउवाले महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेको पौडेल समूहको आरोप छ।

केही समय अघि मात्रै वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा लिखित उजूरी नै दिएका थिए। उनीहरुले महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भएपनि पार्टी सभापतिले कार्यकालको अन्तिममा विभाग गठन गरेको भन्दै उजूरी गरेका थिए।

कांग्रेस विधानमा २८ विभाग रहेपनि सभापति देउवाले केन्द्रीय समिति बैठकमा बहुमतबाट ४७ विभाग पुर्‍याएका थिए। देउवाले विभागलाई पूर्णता दिन नाम संकलन गर्न निकट नेताहरुलाई जिम्मेवारी दिएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्