Logo

सरकारसँग जवाफदेहिता खोज्दै अभियन्ता



काठमाडौं, १६ साउन । गत जेठ २९ गते सयौं युवा बालुवाटारमा जम्मा हुनु सरकारका लागि निकै टाउको दुखाइको विषय बन्यो । अर्कोतर्फ आम सर्वसाधारणका लागि उत्तिकै कौतूहलता ।

लकडाउनकै बेला भएका अन्य प्रदर्शन, नाराबाजी जुुुलुस सरकारका लागि खासै टाउको दुखाइको विषय बनेन, न कोरोनाको कहरमा अस्वाभाविक नै ठाने । कोरोना महामारी रोकथाम र नियन्त्रण कोषमा रहेको १० अर्बको हिसाब खोई भनेर ‘इनफ इज इनफ’ अभियानमार्फत विशेषतः २५ देखि ३५ वर्षसम्मका युवाले प्रदर्शन मात्र के गरेका थिए । सरकार, सत्तारुढ दल र तिनका नेता र कार्यकर्ताले अनि तिनीहरुबाट पालितपोषित सञ्चारमाध्यमले समेत सरकारको सिंहासन नै हल्लाएको झै अभिव्यक्ति दिन थाले ।

जनस्तरमा भने युवावर्गको प्रदर्शनलाई उत्साहप्रदका रुपमा हेरिएको थियो । ‘न भुतो न भविष्यति’ भनेझै लकडाउनको बेला सरकारलाई जवाफदेही बनाउन विशेषतः शहरी क्षेत्रका मध्यमवर्गीय सयौं युवा स्वतःस्र्फूत भेला हुनुलाई धेरैले आश्चर्यको रुपमा पनि लिएका थिए । किनभने शहरी क्षेत्रका युवावर्ग आम सरोकारका विषयमा यसरी बृहत् रुपमा सडकमा उत्रिएको दृश्य अघिपछि बिरलै देख्न पाइन्थ्यो ।

प्रदर्शनमा युवावर्गको संंलग्नतालाई लिएर अनेकले नानाथरी अड्कलबाजी गरेका थिए । वास्तवमा यो अभियानको पछाडि केले भूमिका निर्वाह गरेको छ भन्ने नेपाल समाचारपत्रको प्रश्नमा वसन्तपुरमा हाल आमरण अनशनमा बसिरहेका युवा र तिनका सहयोगी अभियन्ताले फरकफरक शब्दमा एउटै भाव पोखे । ‘इनफ इज इनफ’ अभियानको प्रदर्शन कोरोना महामारीको बेला सरकारले देखाएको गैरजिम्मेवार, निकम्मापन, नागरिकको स्वास्थ्य खेलवाड गरेको कार्यले मनमा उत्पन्न पीडा वा छटपटाहट सडकमा पोख्ने जमर्को मात्र गरेको हुँ । सरकारसँग जवाफदेहिता खोजेको हो । प्रश्न उठाउने साहस गरेको न हो’ –अभियन्ताहरुको उत्तर थियो । यो खबर समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्