१८ साउन : भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।
भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । अबैध यस्तो मदिरा स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ ।
प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।
यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ ।
पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् । उनले अबैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताएका छन् ।एएफपी/File Photo