काठमाडौं, साउन २१ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ ।
आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा तीन सय यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ । पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा तीन सय यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ । काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ ।
कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ । यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागूू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ ।
एक दर्जनले मागे अनुमति
भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाई दुबईले उडान अनुमति मागेको गोरखापत्र दैनिकमा खवर छ ।