Logo

उपभोक्ताको भान्सा महँगियो



काठमाडौँ, २२ साउन । तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १६० रुपियाँ परेको अनुभव कलङ्कीकी उपभोक्ता रमा आचार्यले बताउनुभयो । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने रमाको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।

कलङ्की चोकमै तरकारी भाउ बुझिरहेका वाफलमा डेरा गरी बस्ने विमल कार्कीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताउनुभयो । कार्कीले तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो भन्नुभयो । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्