काठमाडौं, साउन २३ । कोरोना भाइरस संक्रमणका कारण देशभर सबै शैक्षिक संस्था ठप्प छन्। सबै विश्वविद्यालय लामो समयदेखि बन्द रहेका छन्। कोरोना त्रासका कारण विद्यार्थीहरू कलेज जान पाएका छैनन्।
यस्तो परिस्थितीमा समेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका विदेशी कलेजलाई नयाँ विषय थपको लागि सम्बन्धन बाड्ने तयारी गरेको छ। नेपालमा सञ्चालन भइरहेका २४ विदेशी कलेजलाई विभिन्न विषय थपका लागि समबन्धन दिने तयारीमा मन्त्रालय जुटेको छ।
कलेजहरू बन्द रहेको अवस्थामा समेत मन्त्रालयले नयाँ विषय थप गर्नका लागि कलेजमै पुगेर अनुगमन गरिरहेकोको प्रति चौतर्फी आलोचना भइरहेको छ। संक्रमणकालिन अवस्थामा विद्यार्थी विदेश जाने अवस्थामा छैन। तर विदेशी कलेजले नपाली विद्यार्थीबाट भर्नाका नाममा करोडौं रकम उठाउने उद्धेश्य मात्रै रहेको विज्ञको भनाइ छ।
बिहीबार पनि मन्त्रालयका कर्मचारी सहितको टोली उपत्यकाका विभिन्न कलेजमा पुगेर निरीक्षण गरेको थियो। नेपालका विश्वविद्यालयलाई विषय थप गर्नका लागि रोक लगाएको एक दशक बढी भयो। विश्वविद्यालयले विषय थपको आवेदन नखुलाएको दशक भएको छ। नेपालमा हाल व्यवस्थापन र आइटिका विभिन्न विषयमा विद्यार्थी आकर्षण बढ्दो छ। स्वदेशी कलेजलाई विषय थपको अनुमति रोकेर विदेशीलाई नयाँ विषय थपका लागि वर्षेनी अनुमति बाड्दा नेपाली उच्च शिक्षा धारासायी बनेको सरोकारवालाको भनाइ छ।
शिक्षा मन्त्रालयका सहसचिव एवं उच्च महाशाखा प्रमुख रामशरण सापकोटाले यस वर्ष मन्त्रालयले २४ विदेशी कलेजालाई विषय थपका लागि अनुमति दिने काम कामअघि बढाइसकेको बताए। उनले हाल उपत्यकामा रहेका १६ कलेजमा मन्त्रालयले गठन गरेको अध्यायन अनुगमन काम सुरु गरेको जनाए।
‘एउटा कलेजमा प्रतिविषय थप गरे वापत सरकारालाई ५ लाख राजस्व बुझाइसकेका छन्,’ सहसचिव सापकोटाले भने, ‘राजस्व बुझाएपछि राष्ट्रिय शिक्षा नीतिले गरेको व्यवस्था अनुसार अनुमतिको मापदण्ड बनाएर सोहीअनुसार स्थलगत अनुगमन कार्य अघि बढाइएको हो।’
शिक्षकको योग्यता, भौतिक पूर्वाधार, व्यवस्थपकिय पक्ष, शिक्षण सिकाई, शैक्षिक उपलब्धी, निरन्तरतालगायतका विषयमा अनुगमन गरिने उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।