Logo

सुशासन र समृद्धिको आधार तय गर्दै सरकार



काठमाडौं, साउन २८ । कोरोना संक्रमणका कारण विकास, समृद्धि र सुशासनमा केही सुस्त देखिए पनि सरकारले विगत दुई वर्षको अवधिमा समृद्धिको आधारस्तम्भ खडा गरेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केपी शर्मा ओली प्रधानमन्त्री बनेयता सुशासन र समृद्धिमा नयाँ जग बसाल्दै सुधारका कामहरू थालिएको हो । सरकारले यस अवधिमा राजस्व छली र चुहावट गर्नेहरूमाथि कठोर कारबाही सुरु गरेको छ ।

यस अवधिमा सरकारले आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ ।

राजस्व प्रशासन सुधारमा अब्बल देखिएको सरकारले विगत दुई वर्षमा राजस्व ठगी गर्नेहरूको सातो लिएको छ । राजस्व छली र चुहावट सम्बन्धमा अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि राजस्व छली गर्नेहरू धमाधम कानुनी फन्दामा परेका हुन् ।

त्यसैगरी यस अवधिमा छलीका अपराध अनुसन्धानको दायरामा आएका छन् । यसले गर्दा राजस्व छली गर्ने प्रवृद्धि र प्रकृतिमा कमी आएको अनुभूति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार विगत दुई वर्षको अवधिमा मात्रै १४ अर्ब ४६ करोड ९४ लाख रुपैया राजस्व ठगी गर्ने ११ जना राष्ट्रसेवक कर्मचारीसहित ४ सय ८९ जनालाई प्रतिवादी बनाई विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ । राजस्व छली गर्नेहरूलाई छली गरेको रकम बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद माग गरिएको छ ।

सरकारले यस अवधिमा उपल्लो तहका अधिकारीको सरुवालाई व्यवस्थित गरी प्रशासनिक स्थिरता दिने प्रयास गरेको छ । राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाई केन्द्रित गरिएबाट राजस्व प्रशासनमा सदाचार प्रवद्र्धन भई राजस्व संकलनमा सकारात्मक सुधार हुँदै आएको कार्यालयका प्रवक्ता पौडेलले बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्