Logo

कोरोनाभन्दा पार्टीको भाइरसले दुख दियोः मुख्यमन्त्री



पोखरा, २८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसभन्दा पनि आफ्नो पार्टीभित्रको भाइरसले दुख दिइरहेको बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० गण्डकीले संस्थाको वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त भाइरस समाप्त पार्नुपर्नेमा समेत जोड दिए ।
‘अहिले हामी संक्रमणै संक्रमणमा छौं, अत्यासै अत्यासमा छौं, कठिनाइ नै कठिनाइमा छौं, यत्रो भाइरसको महामारीमा छौं, पार्टीको भाइरसले पो झन् बढी दुख दिएको छ,’ उनले भने, ‘कोरोना नोवल भाइरसको महामारीभन्दा पार्टीको भाइरस खतरनाक छ ।’

जनताले कम्युनिस्टलाई ५ वर्ष सरकार सञ्चालन गर्न जिम्मेवारी दिएको बेला पार्टीभित्रको भाइरसबाट दुख पाइराखेको उनले बताए । उनले भने, ‘५ वर्ष सरकार चलाउने बेलामा किन झगडा गर्छौं हामी रु खुरुखुरु सरकार चलाउने । कमजोरी गरेको छ भने पार्टीभित्र छलफल चलाउने हो तर एउटा सानो कमजोरीलाई लिएर सरकार चेन्ज गरेर जनताले दिएको जनमतको अपमान गर्ने अधिकार कुनै नेतालाई छैन । कुनै नेता र हाम्रो पार्टीलाई पनि छैन ।’

कम्युनिस्ट पार्टीले इतिहास मेन्टेन गर्नुपर्ने खाँचो भएको मुख्यमन्त्री गुरुङले औंल्याए । ‘चाहे त्यो नाकाबन्दीको बेला होस्, चाहे त्यो अन्तर्राष्ट्रिय परिवहनको कुरा होस्, चाहे दुई देशको सम्बन्ध स्थापित गर्ने कुरा होस्, इतिहास निर्माण गरेको पार्टी हो कम्युनिस्ट पार्टी,’ उनले भने, ‘चाहे संविधान निर्माणको नेतृत्व गरेको कुरा होस्, चाहे शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गरेको कुरा होस्, कम्युनिस्ट पार्टीले इतिहास निर्माण गरिरहेको छ, तर अब एउटा इतिहास बनाउन बाँकी छ, त्यो भन्या, जनताका सामु बाचा गरेको कुरा ।’ उनले जनतासँग बाचा गरे झैं कम्युनिस्ट पार्टीले स्थायी सरकार दिन सक्नुपर्ने बताए ।

‘हामी लगातार ५ वर्ष सरकार चलाउँछौं, जनताको समृद्धिमा योगदान गर्छौं भन्या हैन, हामीले कबुल गरेको हैन, त्यसो भएर यो सरकारलाई दायाँबायाँ नगरेर काम गर्न दिनुपर्छ,’ उनले भने, ‘१५, ४८, ५१, ५६, ६४ र ७४ मा भएका आम चुनावपछि कम्युनिस्टले मात्रै ५ वर्ष सरकार चलाउन सक्यो भन्ने सन्देश दिनुपर्यो । नेपाल कम्युनिस्ट पार्टीमा जुन भाइरस लागेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ खोप पत्ता लगाउन जरुरी छ, त्यो भाइरसलाई समाप्त पार्न जरुरी छ ।’

पार्टीभित्र लागेको भाइरस पार्टीको विरुद्ध, नेताको विरुद्धमात्रै नभई नेपाली जनताको विरुद्धमा, समृद्धिको विरुद्ध र स्थिरताको विरुद्धमा रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

फोनिजको वार्षिकोत्सवका अवसरमा कञ्चन पत्रकारिता पुरस्कार वितरण भएको थियो । मुख्यमन्त्री गुरुङले उक्त पुरस्कार पुराना पत्रकार रुद्रबहादुर थापा र राजेश राजभण्डारीलाई मंगलबार हस्तान्तरण गरे । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्