Logo

नेकपाका दुई अध्यक्षबीच करिब चार घण्टा वार्ता, छलफल समाधानउन्मुख



काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता करिब चार घण्टा लामो छलफल पछि सकिएको छ । वार्ता समस्या समाधानउन्मुख भएको बताइएको छ ।
बालुवाटारमा बिहीबार बिहान ११ः१५ देखि शुरु भएको वार्ता अपरान्ह ३ः३५ मा सकिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार जानुभएको थियो । नौ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

“दुई अध्यक्षबीच समस्याको समाधानका लागि सकारात्मक शुरुवात भएको छ” अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । सहमतिको थप प्रयासका लागि अध्यक्षद्वयबीच वार्ता जारी रहने उहाँले जानकारी दिनुभयो ।

वार्तामा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटीका दुई जना सदस्य शङ्कर पोखरेल तथा जनार्दन शर्मा ‘प्रभाकर’ को समेत सहभागिता रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो । बैठकमा भएको वार्ता र संवादबारे बाहिर जानकारी गराइएको छैन ।

यसअघि दुई अध्यक्षबीच साउन २० गते बैठक भएको थियो । आजको वार्तामा समस्याका विविध पक्षमा खुलेर छलफल भएको अध्यक्षका सचिवालयले जानकारी गराएको छ । तर ठोस रुपमा सहमति बनिनसकेको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्