काठमाडौं,साउन ३० । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी पर्दै गएका छन् ।जनसम्पर्कमा रहेर काम गर्नुपर्ने र चलायमान बढी हुनुपर्ने भएकाले पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको हो ।
बाग्मती प्रदेशका मकवानपुर, काभ्रे, धादिङ, चितवन लगायतका जिल्लामा कार्यस्थलमा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले सङ्घीय प्रहरी कार्यालयका सहित ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएका बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरी कार्यालयमा रहेको आइसोलेसनमा राखिने भएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै दङ्गा प्रहरीतर्फका सहित चार सयभन्दा बढी प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।