Logo

कोरोनाको उच्च जोखिममा महानगरका कर्मचारी



काठमाडौं, ३० साउन । सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका वा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाले बेवास्ता गरेका छन् ।

 

उपत्यकाको काठमाडौं र ललितपुर महानगरपालिकाभित्र कोरोना संक्रमित देखिएका व्यक्तिसँग निकट भएका परिवार, आफन्त र साथीभाइको कन्ट्याक्ट ट्रेसिङमा खटिने स्वास्थ्यकर्मीलाई बिदा नै नदिई खटाएको पाइएको छ ।

 

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा खटिने जनस्वास्थ्य अधिकृतलाई बिदा नदिएको स्वीकारेको छ । विभाग प्रमुख नरेन्द्रमान वज्राचार्यले जनस्वास्थ्य अधिकृतहरुको कमी भएका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘महानगरपालिकाका सबै वडामा खटिनुपर्ने भएकाले बिदाको व्यवस्था गर्न नसकेका हौं ।’ कामपालाई बिदा मिलाएर खटाउनुपर्छ भन्ने विषयमा जानकारी नभएको कारण हालसम्म सबै अधिकृतलाई कोरोना परीक्षण सम्पर्कमा नआएका व्यक्तिलाई खोजी गर्ने र संकलन गरिएको स्वाब परीक्षण गर्न पठाउने काममा खटाइएको छ ।

कामपाले राजधानीमा कोरोना संक्रमण देखिएलगत्तै परीक्षण गर्ने कामलाई तीव्रता दिएको थियो । त्यस बेलादेखि खटिएका जनस्वास्थ्य अधिकृत हालसम्म सोही काममा परिचालित छन् । कामपामा ३२ वडा छन् ।
सरकारको निर्णय पालना नगरी सबै दिन खटाएकोमा आपत्ति जनाउँदै एक अधिकृतले भने– ‘हामीमध्ये एक जनामा कोरोना संक्रमण देखियो भने सबै जना आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।’

‘हामी हरेक दिन काम गर्छ घरपरिवारसँगै बस्ने गरेका छांै’ –उहाँले भन्नुभयो । घरपरिवारसँग बस्दा जोखिम बढ्न सक्ने विषयमा दुवै महानगरले सोच्ने गरेको छैन । विभाग प्रमुख वज्राचार्यले यो विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्