Logo

प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता



काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको टेलिफोन वार्तामा प्रम ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उहाँले भारतीय जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा गर्नुभएको सम्बोधन औँल्याउँदै प्रधानमन्त्री मोदीले छिमेकीलाई पहिलो प्राथमिकताको दिने विषयलाई प्रतिबद्धता दोहोर्याउनु भएकोमा त्यसको प्रशंसा गर्नुभएको मन्त्रालयले जनाएको छ । साथै नेपालले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरेकोसमेत वार्तामा स्पष्ट पार्नुभएको थियो ।
दुई प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको लडाइँमा भएका पछिल्ला प्रयासहरूको बारेमा अनुभव आदानप्रदान गर्नुभयो । कोभिड नियन्त्रणका लागि यस क्षेत्रमा मिलेर काम गर्न नेपाल र भारतका प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले महामारीको विरुद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारले गरेको प्रयासबारे समकक्षी मोदीसमक्ष विचार आदानप्रदान गर्नुभएको बताइएको छ । कोभिड खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औँल्याउँदै नेपालका प्रधानमन्त्रीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने आशा व्यक्त गर्नुभयो, जसले यस रोगलाई नियन्त्रण गर्न र फैलिनबाट रोक्न सक्नेछ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई भारतले संयुक्त राष्ट्र संयुक्त सङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा जित हासिल गरेकामा लागि बधाई दिनुभयो । साथै यो महत्त्वपूर्ण जिम्मेवारीको सफल निर्वाहका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयमा छलफल जारी राख्ने कुरामा सहमति जनाउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्