Logo

पूर्व कप्तान धोनी र रैनाले लिए सन्यास



एजेन्सी, ३२ साउन । भारतीय क्रिकेटका दुई दिग्गज खेलाडीले शनिबार सन्यास घोषणा गरेका छन् । शनिबार पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले सन्यासको घोषणा गरेका हुन् । धोनीले क्रिकेटबाट सन्यास घोषणा गरेको एक घण्टापछि नै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

भारतीय क्रिकेटको इतिहासमा सफल कप्तान रहेका धोनीले इन्डियन प्रिमियर लिग खेल्नु अगाडी सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा राखेको भिडियोबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले सो भिडियोबाट सबै समर्थकलाई धन्यवाद दिएका छन् । शनिबार साँझ साँढे सात बजे उनले इन्स्टाग्राममा भिडियो पोष्ट गरेर सन्यासको जानकारी दिएका हुन् ।

छोटो ओभरको खेलमा सर्वाधिक सफल कप्तान रहेका धोनीले भारतलाई आइसीसीका तीनै प्रतियोगिताको उपाधि जितेका थिए । उनको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसिय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेका थिए ।अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले १३ औं संस्करणको आइपीएल भने खेल्ने भएका छन्‌ । उनले २०२२ सम्म चेन्नेईबाट खेल्ने बताएका छन् ।

सन् २०१७ को जनवरीमा एकदिवसिय क्रिकेटको कप्तानबाट राजिनामा दिएका धोनीले २०१४ को डिसेम्बर ३० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । ३९ बर्षे धोनीले भारतका लागि तीन सय ५० एकदिवसिय र ९० वटा टेष्ट खेलेका छन् । यस्तै ९८ टी २० खेल खेलका छन् । यो खबर आजको समाचाार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्