Logo

कोरोना संक्रमित छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु



विराटनगर, ३२ साउन । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो। कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ।

छोरालाई आइसोलेसनमा भर्ना गरेर वृद्धाको भने पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी वृद्धाको मृत्यु भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन। कोरोना पुष्टि भएर छोरा आइसोलेसनमा पुगेपछि ती वृद्धाको स्याहारमा बुहारी खटेकी थिइन्। ढिलो रिपोर्ट प्राप्त हुँदा उनको शव व्यवस्थापन अन्योलमा परेको छ।

वृद्धाका छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन्। ती अधिकृत चालक र कार्यालयका अरु दुई जना अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि पहाडी जिल्ला ओखलढुंगा र सोलुखुम्बु गएका थिए। कार्यालयको काम सकेर साउन २० गते विराटनगर फर्किएका चार जनामध्ये उनीसहित तीन जनालाई पहाडमै हुँदा ज्वरो आएको थियो। त्यसपछि कोरोनाको आशंकामा विराटनगर आएर ज्वरो आउनेहरुले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए। रिपोर्ट भोलिपल्ट मंगलबार पोजेटिभ आएपछि उपचारका लागि ती अधिृकतलाई भने आइसोलेनसमा भर्ना गरियो।

उनीसँगै पहाडी जिल्लाको अनुगमनमा गएका चालकमा पनि कोरोना पुष्टि भइसकेको छ। परीक्षण गराएकामध्ये अर्का एक अधिकृतको रिपोर्ट भने नेगेटिभ आएको छ। एक जना अधिकृतले भने आफूलाई लक्षण नदेखिएको भन्दै पीसीआर परीक्षण नै नगराएको कार्यालयले जनाएको छ।

आइसोलेसनमा भर्ना गरेर ती अधिकृतको परिवारलाई पनि ‘कन्ट्याकक्ट ट्रेसिङ’गर्दै परीक्षणको दायरामा ल्याइएको थियो। बुधबार उनकी वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तर पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक नाता सम्बन्धका ६ जनाकै रिपोर्ट चार दिनसम्म पनि प्राप्त भइनसकेको स्थानीय कुमार धमालले बताए। परीक्षणका लागि दिएकामध्ये वृद्धासहित केहीमा ज्वरो आउने लगायत कोरोनाको लक्षण देखिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्