समाचार विश्लेषण । कुनैबेला वीपी कोइरालाले सबैको मुल्य तोकिदिएका थिए । यतिसम्मकी कसलाई के दिन्छु भन्यो पनि सिद्धान्त र अडानलाई बिसाइदिन्छन् भन्ने सम्म भन्ने गरेका थिए । तर, केही यस्ता व्यक्तिको पनि प्रसंग उठाएका थिए जसको मुल्य थिएन न त अडान र एजेन्डा नै छाड्न सक्छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र त्यस्ता मान्छे विरलै छन् भन्ने पछिल्लो घटनाक्रमले देखाएको छ ।
नेकपाभित्र हालै बढेको विवाद सिद्धान्त, विधि र पद्धतिभन्दा पनि पदको लडाईं रहेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ । त्यसलै आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी गर्ने समुहलाई हल्का रुपमा लिए । उनले राजीनामा नदिने अडान कसिरहे । पार्टीका हेभिवेटहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको घेराबन्दी महाभारतमा अभिमन्युका लागि बनाइएको चक्रव्यु समान थियो । ओलीले त्यो चक्रव्युहलाई तोड्न अनेकन अस्त्र प्रयोग गरे । ती अस्त्रहरु फितलो बनेपछि उनले अन्तिम अस्त्र फाले त्यो हो पदको लोभ ।
सबैभन्दा पहिले उनले बामदेव गौतमलाई पदको चारो फाले । उनका केही मान्छेलाई राजनीतिक नियुक्तिको आश्वासन दिए । गौतमले भनेका केही मान्छेलाई मन्त्रीमा कायमै राख्ने र भविष्यमा पार्टी अध्यक्ष बन्न सहयोग गर्ने सम्म भनेपछि परिस्थिति बदलियो । बामदेव यु टर्न मात्र भएनन् ओलीको योजनामुताबिक बनेको छ बुँदे बनाएर आफ्नो प्रस्ताव भन्दै हिंडे । उनले आफू कुनै गुटमा नभएको भन्दै प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको समुहलाई परित्याग गरे । उनको भैंसेपाटीस्थित घरमा ओली अतिथिका रुपमा पुगे ।
ओलीले प्रचण्डलाई कमजोर बनाउन उनी निकटस्थहरुलाई पदको लोभ देखाए । प्रचण्डनिकट सांसद र स्थायी कमिटी सदस्यहरुले भने बमोजिम केही नियुक्तिहरु दिलाइदिए । कतिपयलाई भविष्यमा मन्त्री बनाइदिने आश्वासन दिए । प्रचण्डले आफू निकटस्थहरु धमाधम गुमाउन पुगे । उनले गृहमन्त्री रामबहादुर थापा बादल नै टाढिएको बुझे । लेखराज भट्ट खुमलटार आउनै छाडिसकेका थिए । पार्टी एकता बलियो बनाउने नाममा समुह बनाएर टोपबहादुर रायमाझीलगायत नेताहरु बालुवाटारमा हिमचिम गर्न थाले । सबैलाई ओलीले केही न केही पद र अवसरको चारो हालिरहे । जसका कारण प्रचण्ड आफ्नैले साथ छाडेको र कमजोर भएको महशुश गर्न थाले ।
माधवकुमार नेपाल निकट योगेश भट्टराई, घनश्याम भुषाललगायत नेताहरु पनि बामदेवसँग नजिकिदै बालुवाटारसँग बढी निकट हुनथाले । ओलीविरुद्ध कडा अभिव्यक्ति दिदै आएका भीम रावल पनि मथ्थर बन्दै गए । यसका पछाडि ओलीको अस्त्रले काम गरेको विश्लेषण हुनथालेको छ ।
ओलीले पदको चारो हालेर नेकपाभित्र आफूलाई घेराबन्दी गर्ने समुहलाई तितरबितर बनाइदिएका छन् । उनीहरुमा एक अर्काविरुद्ध अविश्वास बढ्ने अवस्था बनाइदिएका छन् । ओलीविरुद्ध भैंसेपार्टीमा बैठक डाकेर समुह खडा गर्ने बामदेव गौतमले नै सबैभन्दा पहिले यु टर्न बन्नुमा पदको अस्त्रले काम गरेको विश्लेषण हुन थालेको छ । कसलाई के गर्दा र के दिन्छु भन्दा चुप लगाउन या आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने बुझेका ओलीले यसपटक सोही अनुरुपको रणनीति चालेर विरोधीको घेराबन्दी तोड्न सफल भएका छन् ।