काठमाडौं, ३२ साउन । प्रहरीले गोंगबु हत्याकाण्डको वास्तविक कारणबारे विभिन्न कोणबाट अनुसन्धान बढाइरहेको छ । हत्याकी अभियुक्त कल्पना मुडभरीको पहिचान भइसकेपनि वास्तविक कारणबारे अझै आशंकाहरु रहेकाले अनुसन्धान विभिन्न कोणबाट भइरहेको बुझिएको छ ।
२४ साउनको राति गोंगबुमा हत्या भएपनि २६ साउनमा मात्र अभियुक्त पत्ता लागेकी थिइन् । उनलाई सोही राति १५ वर्षीया छोरीसहित चितवनको कालिका नगरपालिकास्थित माइतीबाट काठमाडौं ल्याएर थप अनुसन्धान गरिएको थियो । त्यतिबेला उनको बयान अनुसार फेसबुकमा बदनामी गरेको र शारीरिक सम्पर्कका लागि वाध्य पार्ने गरेकोले असह्य भएर हत्या गरेको भनिएको छ ।
तर, कल्पना र कृष्णबहादुरबीच पैसाको लेनदेनको पाटोबारे पनि अनुसन्धान बढाइएको छ । प्रहरीसँगको बयानमा कल्पनाले आफू उल्टै ऋणमा भएको दाबी गरेको स्रोतले बताएको छ । उनले कोठा भाडा समेत तिर्न नसकेको बयान दिएकी छिन् । चितवनमा रहेका उनका आमाबाबुले पनि छोरी ऋणमा रहेको बताएका छन् ।
कल्पनाले ऋणमा रहेको बताएपनि उनको आर्थिक स्रोतबारे प्रहरीले अनुसन्धान बढाएको छ । कृष्णबहादुरको परिवारले ६० लाख लिएको विषय उठाएपछि त्यो पाटोबारे अनुसन्धान बढाइएको हो । यदि उनले ६० लाख लिएको र नदिएको हो भने कहाँ गयो ? भन्नेबारे प्रहरी अनुसन्धान केन्द्रित भएको छ ।
अहिलेसम्मको अनुसन्धानबाट कृष्णबहादुर र कल्पनाको सामाजिक सञ्जालमा चिनजान भएको, दुवैबीच अन्तरङ्ग सम्बन्ध हुने खुलेको छ । हत्याको राति पनि कृष्णबहादुर बस्ने नै गरी पुगेका थिए । तर, उनी प्याकिङ्गको शवका रुपमा फालिए ।
गोगंबु हत्या प्रकरणकी अभियुक्त कल्पना तीन बच्चाकी आमा, जेठी छोरीको विवाह भइसकेको खुलासा
कल्पनाको परिवारका सदस्यले उनी हत्या गर्न सक्ने खालको नभएको दाबी गरेको छ । तर, उनले किन विभत्स हत्या गरिन् भन्ने विषयबारे अझै रहस्यहरु भरिएका छन् । शारीरिक सम्पर्कका लागि वाध्य पार्ने गरेको, सामाजिक सञ्जालमा बदनाम गर्ने गरेको र किशोरावस्थाकी छोरीलाई समेत हातपात गर्न खोजेको विषयहरु कल्पनाको बयानका आधारमा बाहिर आइरहेका छन् । तर, अझै केही विषय रहस्यमय बनेकाले प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।
गोगंबु हत्या प्रकरणकी अभियुक्त कल्पना तीन बच्चाकी आमा, जेठी छोरीको विवाह भइसकेको खुलासा